काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमध्ये १० संसदीय समितिका सभापति निर्विरोध भएका छन्। बिहीबार दिउँसो १ देखि ४ बजेसम्म भएको मनोनयनमा १० समितिमा एकल उम्मेदवारी परेपछि सभापति चयन निर्विरोध भएका हुन्।
शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकले औपचारिक रूपमा उनीहरूलाई निर्विरोध सभापति घोषणा गर्नेछ। यसपटक सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अधिकांश समितिमा आफ्नो प्रभाव कायम राख्दै नौवटा समितिको नेतृत्व हात पारेको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, कृषि तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी छन्।
राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग वाणिज्य तथा श्रम समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास र अर्थ समितिमा कृष्णहरि बुढाथोकीको एकल उम्मेदवारी परेको छ। संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले नेतृत्व सम्हाल्ने छन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा भने रास्वपाबाट ओजस्वी शेरचन र एमालेबाट गुरु बरालको उम्मेदवारी परेको छ। बराललाई कांग्रेसले समर्थन गरेको छ। तर रास्वपाको बहुमत भएकाले एमालेबाट सभापति हुन कठिन छ ।
सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका भरतबहादुर खड्काको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध भए ।









