काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै यस वर्ष सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी बिहीबार र शुक्रबार सर्वसाधारणका लागि यी सिक्का बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले २.५ ग्रामका सुनका असर्फी र १० ग्राम तौलका चाँदीका मेडालियन बिक्री गर्ने तयारी गरेको छ। चाँदीका मेडालियनमा लक्ष्मी, गजलक्ष्मी र गणेशको आकृति अंकित हुनेछ।

ADVERTISEMENT

राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यस वर्ष वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी त्यसबाट असर्फी तयार पारिएको हो। केही दिनदेखि दैनिक करिब ५०० वटाका दरले असर्फी छाप्ने काम भइरहेको छ।

ADVERTISEMENT

गत वर्ष सुन अभावका कारण राष्ट्र बैंकले चाँदीका मेडालियन मात्रै बिक्री गरेको थियो। यस वर्ष भने सुनको व्यवस्था गरेर असर्फीसमेत बिक्री गर्न लागेको हो।

एक व्यक्तिले एउटा सुनको असर्फी र तीनवटासम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन्। राष्ट्र बैंकले आफूसँग उपलब्ध मौज्दातका आधारमा बिक्री गर्ने जनाएको छ।

असर्फी र मेडालियनको मूल्य बिक्री हुने दिनको सुनचाँदीको बजार मूल्यका आधारमा निर्धारण हुनेछ। त्यसमा सिक्का उत्पादन लागतसमेत जोडिनेछ। बजार मूल्यभन्दा करिब १० देखि १५ प्रतिशतसम्म महँगो पर्ने दाहालले बताएका छन्।

राष्ट्र बैंकसँग सीमित मौज्दात रहेकाले सबैको माग पूरा गर्न नसकिने उनको भनाइ छ। त्यसैले दुई दिन मात्रै बिक्री गर्ने र पहिले आउनेलाई प्राथमिकता दिने तयारी गरिएको छ।