काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। मंगलबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४७ रन बनाए। विकेटकिपर निरोशन डिकवेलाले २८ बलमा २ चौका र १ छक्काको मद्दतमा अविजित २७ रन जोडे।
रोहित र डिकवेलाले तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। ओपनर डार्सी सर्टले १३ र आसिफ शेखले ९ रन बनाए। पोखराका विपिन खत्रीले १ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो।
पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्कासहित सर्वाधिक २५ रन बनाए। कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
यस सिजन पहिलो खेल खेलेका अर्जुन कुमाल दोस्रो बलमै खाता नखोली आउट भए। सदारा समरविक्रमाले ७, विपिन आचार्यले १, शाकिब अल हसनले ३ र अर्जुन घर्तीले ६ रन बनाए। विपिन खत्री ६ र आकाश चन्द १ रनमा अविजित रहे।
पोखरालाई कम स्कोरमा रोक्न लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले २२ रन दिएर २ विकेट लिए भने शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट हात पारे।
यस जितसँगै तीन खेलबाट ५ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा पुगेको छ। यस सिजन अहिलेसम्म अपराजित रहने लुम्बिनी एक्लो टोली हो। लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन हुँदै तालिकाको पुछारमा छ।










