काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष शंकर पोखरेलले आफ्नो सामाजिक सञ्जालमार्फत नेत्रलाल अभागीको कविता “आँधी र हुरी नचलेको बेला…” उद्धृत गर्दै धैर्य र संयमित रहन आग्रह गरेका छन् ।
पोखरेलले लेखेका छन् –
“धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्नेछौँ।”
उनको यो पोस्ट अहिलेको राजनीतिक उथलपुथल र जेन जी (Gen Z) आन्दोलनसँग जोडिएको चर्चा भइरहेको छ। पछिल्ला दिनमा देशभर फैलिएको जेन जी आन्दोलनमा नयाँ पुस्ताले नेतृत्व दिन सक्ने व्यक्तित्व देखिएको छैन भन्ने टिप्पणी भइरहेका बेला पोखरेलको यस्तो अभिव्यक्ति आएको हो।
यसलाई एमाले फेरि सत्तामा फर्कने संकेतका रूपमा देखिएको छ । उनका शब्दहरूले एमालेलाई ‘पुरानो तर पुनः सक्षम विकल्प’का रूपमा प्रस्तुत गर्ने प्रयास भएको देखिन्छ।
तर प्रश्न उठेको छ—
यदि फेरि पुरानो दलमै सत्ताको ढोका खुल्ने हो भने, आन्दोलनका क्रममा बलिदान दिएका २५ जना विद्यार्थीहरूको रगतको मूल्य के हुन्छ? हिजो देखिएको विध्वंश र अराजकताको अर्थ के हुन्छ?
युवाहरूले उठाएको आक्रोशलाई व्यवस्थापन गर्ने नयाँ नेतृत्व अघि नआउँदा, पुरानो दलका नेताले नै अवसर पाउने अवस्था बनेको देखिन्छ। पोखरेलको पोस्टले यही यथार्थलाई झल्काएको प्रष्ट हुन्छ।





