पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागलुङ नगर सभापति अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचना पाएपछि प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमान्डमा खटिएको टोलीले छापा मारेको थियो। प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ५० वर्षीय दुर्गाबहादुर खत्री र ३५ वर्षीय हरि शर्मा छन्।
त्यस्तै, बागलुङ नगरपालिका–३ का ६६ वर्षीय भीमबहादुर खत्री र ६६ वर्षीय डम्मरबहादुर भण्डारी, वडा नम्बर १ का ५५ वर्षीय राजु गौतम तथा वडा नम्बर ८ का ५६ वर्षीय केशव पराजुली पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूमा राजनीतिक नेता, कानुन व्यवसायी र स्वास्थ्यकर्मीसमेत छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खड्का यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए। प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका उनी बागलुङ नगरपालिकाको पार्टी वडा सभापति रहेको विवरणमा उल्लेख छ।










