काठमाडौं । एमाले अध्यक्ष केपी ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । तीन साता लामो उपचारपछि निवास फर्किएका ओली नेकपा स्थापना दिवसको सन्दर्भमा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गर्ने कार्यक्रममा सम्बोधन गर्दैछन्। एमालेले आज ७७ औं नेकपा स्थापना दिवस मनाउन लागेको हो।
ओली आजको कार्यक्रममा उपस्थित हुने एमालेका एक नेताले बताए। एमालेले आजको कार्यक्रमको प्रचार सामग्रीमा ओलीको तस्बिर नै राखेको छैन । ओलीलाई नेतृत्वबाट हटाउने तयारी चलिरहेको बेला ओली औपचारिक कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
भर्खरै पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका अोली अझै तंग्रिसकेका छैनन्। जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा अध्यक्ष ओली चैत १४ गते पक्राउ परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो।
चैत २६ गते हाजिरी जमानीमा हिरासतमुक्त भएका ओली शल्यक्रियापछि घर फर्किएका थिए।
ओलीलाई भेट्न एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू मंगलबार गुण्डु पुगेका थिए। सोही क्रममा ओलीले बुधबारको कार्यक्रममा आफू सहभागी हुने बताएका हुन्।







