काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठक दुई दिन सारेका छन् ।

कांग्रेसको आगामी महाधिवेशनको मितिबारे महामन्त्रीद्वय पक्षधर र संस्थापन पक्षधरबीच सहमति हुन नसक्दा शुक्रबारका लागि तय भएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो।

ADVERTISEMENT

कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे प्रस्ताव नराख्न कार्यबाहक सभापति खड्काले आग्रह गरेपछि महामन्त्री गगन थापा बिहीबारको बैठकमा सहभागी नै भएनन्।

ADVERTISEMENT

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि २१ सम्मको नयाँ महाधिवेशन मिति प्रस्ताव गर्न खोजे पनि कार्यबाहक सभापति खड्काले फागुन ६ देखि महाधिवेशन गर्ने प्रस्ताव महामन्त्रीद्वयसमक्ष राखेका थिए।

शुक्रबार महामन्त्रीहरू थापा र शर्मासँग छलफल गर्दै खड्काले महाधिवेशनको तालिका पेस गर्ने वातावरण बनाउने बताए पनि उनी जसरी पनि समयमै महाधिवेशन गर्न नदिने रणनीतिमा लागेको नेताहरुको भनाइ छ ।

ADVERTISEMENT

खड्कासँगका भेटअघि महामन्त्रीहरूले कांग्रेसको संस्थापनइतर समूहका नेताहरूसँग छलफल गरेका थिए । इतर समूहका नेता डा. शेखर कोइरालासहितका पदाधिकारीहरूसँग छलफल भएको थियो ।

सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ। निर्वाचनको दुई साताअघि महाधिवेशन मिति प्रस्ताव गर्नु महाधिवेशन धकेल्ने प्रपञ्चबाहेक केही नभएको महामन्त्रीद्वय निकट केन्द्रीय समिति सदस्यहरू बताउँछन्। कांग्रेस केन्द्रीय समिति सदस्य अजयबाबु शिवाकोटीले संस्थापन पक्षले समयमै महाधिवेशन नगराउने नियत राखेको बताए।