काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएर २८१ सदस्यीय बनाउने तयारी गरेको छ। २०७८ मा भएको १४औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय थियो। गत पुसमा भएको विशेष महाधिवेशनबाट त्यसलाई बढाएर २३१ सदस्यीय बनाइएको थियो।
तर १५औँ महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु गर्नुअघि केन्द्रीय समितिको आकार २८१ सदस्यीय बनाउने समझदारी नेताहरूबीच भएको हो। विधान संशोधन प्रस्तावमार्फत केन्द्रीय समिति र पदाधिकारीको संख्या बढाउने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव आज महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन गरी बन्द सत्रमा पेस गर्ने तयारी छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार प्रस्तावित व्यवस्थामा कांग्रेसमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति, तीन महामन्त्री र १४ सहमहामन्त्री रहनेछन्।
सहमहामन्त्रीमध्ये ११ जना निर्वाचनबाट र तीन जना मनोनीत हुने व्यवस्था प्रस्ताव गरिएको छ। तीन मनोनीतमध्ये एक जना महिला अनिवार्य गरिएको छ। ‘पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ, अब केन्द्रीय समिति २८१ सदस्यीय हुने देखिन्छ,’ पौडेलले भने।
प्रस्तावअनुसार खुलातर्फ ४५ जना केन्द्रीय सदस्य रहनेछन् भने खुला महिलातर्फ १७ जना रहनेछन्। अन्य विभिन्न क्लस्टरमा पनि यसअघि भन्दा संख्या बढाउने प्रस्ताव गरिएको छ। कांग्रेसमा केन्द्रीय सदस्य तथा पदाधिकारीका आकांक्षीको संख्या ठूलो रहेकाले नेताहरूको व्यवस्थापनका लागि केन्द्रीय समितिको आकार बढाउन लागिएको बताइएको छ। विधान संशोधन प्रस्ताव बन्द सत्रमा पेस भएपछि त्यसमा छलफल र निर्णय हुने कांग्रेसले जनाएको छ।












