काठमाडौं, असोज १९ । नेपाली कांग्रेसमा सहमहामन्त्रीको संख्या १५ जना पुर्याउने गरी विधान संशोधन गरिने भएको छ। नयाँ व्यवस्थाअनुसार ९ जना समावेशी क्लस्टरबाट, २ जना खुलाबाट र ४ जना सभापतिले मनोनीत गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
समावेशी कोटाअन्तर्गत महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपाङ्गता समुदायबाट एक–एक जना सहमहामन्त्री निर्वाचित हुनेछन्।
यसअघि कांग्रेसको विधानमा आठवटा समावेशी क्लस्टरबाट आठ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था थियो। पछिल्लो संशोधनमा अल्पसंख्यक/अपाङ्गता समुदायका लागि नयाँ क्लस्टर थप्ने प्रस्ताव गरिएको हो।
त्यस्तै, सहमहामन्त्रीमा पहिलोपटक खुलातर्फबाट दुई जना निर्वाचित गर्ने व्यवस्था राखिएको छ। यससँगै सभापतिलाई सहमहामन्त्रीमध्ये चार जना मनोनीत गर्ने अधिकार रहनेछ।
नयाँ व्यवस्थाअनुसार सभापतिले मनोनीत गर्ने चार सहमहामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको पदाधिकारी संख्या १७ पुर्याइएको थियो। १५औँ महाधिवेशनका लागि भने विधानमा थप संशोधन गर्दै पदाधिकारीको संरचना विस्तार गर्ने प्रक्रिया अघि बढाइएको छ। पछिल्लो प्रस्तावअनुसार उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहने संरचना बनाउने तयारी छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु भएको छ। निर्वाचन प्रक्रिया पनि यही क्रममा अघि बढ्दैछ र नयाँ विधान पारित भएपछि संशोधित संरचनाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य चयन हुनेछन्।







