काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ ।
मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगितामा यात्रा टुंगिएको हो ।
पाकिस्तानले दिएको १६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालको ब्याटिङ निकै कमजोर रहँदा ओपनर मयन यादवले मात्रै केही संघर्ष गरे । उनले ५० बलमा ४१ रन बनाए । उनी नेपालको अन्तिम विकेटका रूपमा आउट भएका थिए ।
मयनपछि बसिर अहमदले ११ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ जना ब्याटर खाता नै नखोली पभेलियन फर्किए ।
पाकिस्तानका लागि मोहम्मद हस्नेन र सुफियान मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । पाकिस्तानका रोहेल नाजिरले ८३ बलमा अविजित ६४ रन बनाए । हसन नवाजले २८, अहमद दनियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन बनाए ।
नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै लिस्ट ए क्रिकेट करियरकै पहिलो पाँच विकेट पूरा गरे । उनले ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए । लिस्ट ए क्रिकेटमा डेब्यू गरेका अभिषेक गौतमले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै पुनरागमन गरेको थियो । तर, अन्तिम खेलमा पाकिस्तानसँगको हारले नेपालको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भयो ।
समूह ‘बी’ मा तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूहविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारत ए उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।












