काठमाडौं । रोजगारीका लागि प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँ खर्च गरेर रोमानिया पुगेका नेपाली श्रमिक काम र पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।

रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौताअनुसार काम, तलब तथा सेवा–सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

ADVERTISEMENT

आन्दोलनरत श्रमिक कम्पनीबाहिर भेला भएर ‘वि वान्ट जस्टिस’ भन्दै नाराबाजी गरिरहेका छन् । नेपालबाट ठूलो रकम खर्च गरेर युरोप पुगे पनि नियमित काम नपाउँदा ऋण तिर्न र दैनिक खर्च धान्नसमेत समस्या भएको उनीहरूको गुनासो छ ।

ADVERTISEMENT

एक श्रमिकका अनुसार कम्पनीले महिनामा मुस्किलले दुई–तीन दिन मात्रै काम दिने गरेको छ । बाँकी दिन कामविहीन भएर बस्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ ।

‘१२ लाख रुपैयाँ तिरेर आएको हो, तर एक महिनामा दुई–तीन दिन मात्रै ड्युटी दिन्छन्, बाँकी २७–२८ दिन बिदामा बसाइदिन्छन्,’ एक श्रमिकले भने, ‘बिसार कम्पनीमा काम पाइन्छ भनेर आएका थियौँ, यहाँ आएपछि भनेअनुसार काम पनि पाएनौँ, तलब पनि पाएनौँ ।’

श्रमिकहरूको अर्को मुख्य असन्तुष्टि सम्झौतामा उल्लेख भएको र वास्तविक रूपमा पाउने पारिश्रमिकबीचको अन्तर हो । नेपालबाट रोमानिया जानुअघि गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु उल्लेख भए पनि कम्पनीले सोहीअनुसार भुक्तानी नगरेको उनीहरूको आरोप छ ।

आवास खर्चका नाममा रकम कटौती गर्न थालेपछि असन्तुष्टि थप चुलिएको हो । तर, रोमानियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य सुरेन्द्र गौतमले कम्पनीमा नेपालीसहित ६ सयदेखि ७ सय जनासम्म कामदार रहेको बताएका छन् । त्यसमध्ये करिब ४ सय नेपाली रहेको उनको भनाइ छ ।

गौतमका अनुसार पछिल्लो समय रोमानियाको आर्थिक गतिविधि सुस्ताएको, कर बढेको र जाडो मौसम सुरु भएसँगै कामको मात्रा घटेका कारण कम्पनीले कामदारको ड्युटी आवर घटाएको हो ।

‘पहिला कम्पनीले बस्ने सुविधा निःशुल्क दिएको थियो । अहिले आवास खर्चबापत केही रकम काट्न थालेपछि श्रमिकको हातमा आउने तलब घटेको हो,’ गौतमले भने, ‘तीन–चार सय ल्यु आवास खर्च कटाउँदा महिनामा ९–१० हजार रुपैयाँसम्म कम हुने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।’

उनका अनुसार रोमानियामा कर कट्टीपछि प्राप्त हुने पारिश्रमिकबाट आवास, बिजुली तथा अन्य खर्चसमेत कटाउँदा श्रमिकको हातमा आउने रकम निकै कम हुने गरेको छ ।

यद्यपि, ठूलो कम्पनी भएकाले कर्मचारीको तलबसम्बन्धी विवरण सरकारी कर कार्यालयमा बुझाउनुपर्ने र भुक्तानीको अभिलेखसमेत राखिने हुँदा तलब नै नदिने अवस्था नरहेको गौतमको दाबी छ ।

रोमानियामा नेपाली श्रमिकको संख्या बढ्दो

गौतमका अनुसार पछिल्लो समय रोमानियामा नेपाली श्रमिकको संख्या उल्लेख्य रूपमा बढेको छ । अहिले त्यहाँ ७५ देखि ८० हजार नेपाली रहेको अनुमान छ । तर, सरकारी अभिलेखमा भने ५० देखि ५५ हजार हाराहारी नेपालीको मात्रै विवरण रहेको उनको भनाइ छ ।

युरोपेली मुलुकमा रोजगारीको आकर्षण बढेसँगै नेपालबाट रोमानिया जाने क्रम पनि तीव्र भएको छ । तर, गन्तव्य मुलुक पुगेपछि काम नपाउने, सम्झौताअनुसार सुविधा नपाउने र ऋणको बोझका कारण नेपाली श्रमिक थप समस्यामा पर्ने गरेको गौतम बताउँछन् ।

‘एजेन्ट र म्यानपावरले राम्रो अवसर छ भनेर पठाउँछन्, तर यहाँ आएपछि अवस्था फरक हुन्छ,’ उनले भने, ‘१० लाख रुपैयाँ खर्च गरेर आउनेले महिनामा ६ सय युरो कमाउँदा पनि ऋण तिर्न र खर्च धान्न मुस्किल हुन्छ ।’

उनका अनुसार रोमानियामा नेपाली श्रमिकलाई रोजगारी दिने कम्पनीहरूले स्थानीय कामदारको तुलनामा बढी समय काम गराउने अपेक्षा राख्ने गरेका छन् । विदेशी श्रमिकले कागजी प्रक्रिया पूरा गर्नुपर्ने र रोजगारीसँग जोडिएका अन्य जिम्मेवारीसमेत हुने भएकाले उनीहरू थप जोखिममा पर्ने गरेका छन् ।

गौतमले नेपाली श्रमिकको समस्या समाधानका लागि रोमानियामै नेपालको आधिकारिक कन्सुलर सेवा वा दूतावासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

हाल रोमानियासम्बन्धी कूटनीतिक सेवा जर्मनीस्थित नेपाली दूतावासमार्फत सञ्चालन हुँदै आएको छ । तर, समस्या पर्दा त्यहाँ सम्पर्क गर्दा पनि प्रभावकारी सहयोग पाउन कठिन हुने गरेको उनको गुनासो छ ।

‘यहाँ नेपालीको संख्या धेरै छ, तर समस्या पर्दा सम्पर्क गर्ने आधिकारिक निकाय छैन,’ उनले भने, ‘कसैको मृत्यु हुँदा शव नेपाल पठाउनसमेत चन्दा उठाउनुपर्ने अवस्था छ । श्रम गरेर विदेश आएका नेपालीले समस्या पर्दा राज्यबाट सहयोग पाउनुपर्छ ।’

रोमानियामा नेपाली श्रमिकको संख्या बढेसँगै मृत्यु, हराउने, आत्महत्या तथा अन्य समस्याका घटना पनि सार्वजनिक हुने गरेको उनले बताए । यस्ता घटनामा समयमै सहजीकरण र सहयोग गर्न नेपाल सरकारले गम्भीर चासो दिनुपर्ने उनको भनाइ छ ।

यसैबीच, रोमानियामा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले आन्दोलनरत श्रमिकका माग सम्बोधन गर्न सरोकारवालासँग अपिल गरेका छन् । उनीहरूले प्रभावित श्रमिकको समस्याबारे निष्पक्ष छानबिन गरी श्रमिकको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

समस्यामा परेका श्रमिकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् । त्यस्तै, जर्मनीस्थित नेपाली दूतावासलाई कम्पनी र प्रभावित श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी वास्तविक अवस्था बुझ्न तथा समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

लाखौँ रुपैयाँ ऋण लिएर वैदेशिक रोजगारीमा जाने नेपालीले गन्तव्य मुलुक पुगेपछि सम्झौताअनुसार काम र पारिश्रमिक नपाउने समस्या नयाँ होइन ।

रोमानियाको पछिल्लो घटनाले वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले गर्ने प्रतिबद्धता, रोजगारदातासँग भएको सम्झौता र गन्तव्य मुलुकमा श्रमिकले पाउने वास्तविक सुविधाबीचको अन्तरलाई फेरि सतहमा ल्याएको छ ।

यस विषयमा बर्लिनस्थित नेपाली दूतावासले भने नेपाली श्रमिक आन्दोलनमा उत्रिएको र उनीहरूले भोगिरहेको समस्याबारे आफूलाई जानकारी नभएको जनाएको छ ।