काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । बैंकले जनकपुर बोल्ट्ससँग आधिकारिक बैंकिङ साझेदारीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

२०८३ कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणमा जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको बैंकले जनाएको छ । बैंकले यस साझेदारीलाई नेपाली क्रिकेटको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन र युवाको सशक्तीकरणमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको छ ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यो साझेदारी जर्सीमा लोगो राख्ने विषयमा मात्र सीमित छैन । यसमार्फत क्रिकेटका माध्यमबाट समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र युवा सशक्तीकरणमा सहयोग गर्ने बैंकको प्रतिबद्धता रहेको उनले बताएका छन् ।

ADVERTISEMENT

एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास हुँदै गएको छ । प्रतियोगिताको तेस्रो संस्करणका खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक टी–२० मान्यता प्रदान गरेको जनाइएको छ । यससँगै खेलाडीको प्रदर्शन र व्यक्तिगत तथ्याङ्कले आधिकारिक टी–२० अभिलेखमा स्थान पाउनेछन् ।

एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । टोलीले मधेश प्रदेशको खेलकुद पहिचान उजागर गर्नुका साथै नेपाली क्रिकेटप्रेमीमाझ आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ ।

जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गरेका छन् । उनले बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने सोच र जनकपुर बोल्ट्सको मधेशका जनतासँग जोडिने यात्राबीच समानता रहेको बताएका छन् ।

खतिवडाले एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यसपटक पनि उपाधि जनकपुर फर्काउने लक्ष्य रहेको उल्लेख गर्दै बैंकसँगको सहकार्यले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई थप ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् । उनले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धतालाई पनि यस साझेदारीले बलियो बनाउने बताएका छन् ।

ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।