काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले बिहीबार नेपालले गर्ने इंग्ल्यान्ड भ्रमणको खेल तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । एमसीसीको आयोजनामा हुने भ्रमणअन्तर्गत नेपालले लर्ड्समा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
उक्त खेलकै दिन लर्ड्समा मिडलसेक्सको टी–२० ब्लास्ट खेलसमेत आयोजना हुनेछ । एमसीसीका अनुसार एउटै दिन एउटै मैदानमा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटको खेल आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ । खेल नेपाली र बंगलादेशी दर्शकले टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न सक्ने समयलाई ध्यानमा राखेर तय गरिएको हो ।
बंगलादेशको पुरुष टोलीले लर्ड्समा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले त्यहाँ खेलेको थियो । नेपाल भने लर्ड्समा दोस्रोपटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो । नेपालले सन् २०१८ मा नेदरल्यान्ड्ससँग त्यहाँ खेलेको थियो ।
इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड र आयरल्यान्डसँग पनि अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल खेल्नेछ । एमसीसीले सार्वजनिक गरेको तालिकाअनुसार नेपालका खेलहरू यसप्रकार छन् :
-
जुन १: वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल
-
जुन ३: लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय
-
जुन ६: वर्म्स्लीमा आयरल्यान्डसँग ५० ओभरको खेल
-
जुन ९: वर्म्स्लीमा आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रिय
-
जुन ११: बेकनहममा आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रिय
-
जुन १२: बेकनहममा आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रिय
भ्रमणका सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यताप्राप्त र इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)बाट स्वीकृत रहेको एमसीसीले जनाएको छ । खेल सुरु हुने समय र टिकटसम्बन्धी विवरण भने पछि सार्वजनिक गरिनेछ ।












