काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै शानदार जित हात पारेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो ।

अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाए । उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे । नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७ तथा शेहान जयसूर्याले २६ रन जोडे । आठौँ विकेटका लागि सञ्जय र नोत्थुषबीच ७० रनको साझेदारी भए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

ADVERTISEMENT

नेपालका बलरहरू प्रभावशाली देखिए । सन्दीप लामिछानेले तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र गुल्शनकुमार झाले समान दुई–दुई विकेट हात पारे । सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो । नेपालका इशान पाण्डेले उत्कृष्ट ८४ रनको इनिङ खेले । उनले ८३ बलमा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५९ रन बनाउँदै आक्रामक ब्याटिङ गरे । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रनको योगदान दिए । इशान र रोहितबीच तेस्रो विकेटका लागि ११० रनको महत्वपूर्ण साझेदारी भएको थियो । साथै, आसिफ र कुशलले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका शुभम रञ्जानेले तीन विकेट लिए भने रुसिल उगकर र मिलिन्द कुमारले समान एक विकेट हात पारे ।

यस जितसँगै नेपालले २८ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौँ स्थान कायम राखेको छ । पराजित अमेरिका भने २८ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै रहेको छ ।