काठमाडौं । ओमानमा जारी एसिसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग ७ विकेटले पराजित भएको हो।

यसअघि प्रतियोगिताको पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा पनि अपेक्षित प्रदर्शन गर्न सकेन। युएईले भने प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

ADVERTISEMENT

नेपालले प्रस्तुत गरेको १५४ रनको लक्ष्य युएईले ३४.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। युएईको जितमा अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेले। यस्तै, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन बनाए।

ADVERTISEMENT

नेपालका लागि कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले समान एक–एक विकेट लिए।

त्यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए। सचिन भट्टले ३२ तथा निरजकुमार यादव र दर्श सोनारले समान १६ रनको योगदान दिए।

युएईका बलर नसीम खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा एक मेडनसहित ४३ रन खर्चेर पाँच विकेट लिए। उनको प्रभावकारी बलिङका कारण नेपाली टोली ठूलो स्कोर बनाउन असफल भयो।

लगातार दुई हारसँगै नेपालको प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले अब समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा आगामी मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।