काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए पक्राउ गर्ने चेतावनी दिएको छ । हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने योजना सार्वजनिक गरेपछि सरकारले उनलाई पक्राउ गरिने स्पष्ट पारेको हो ।

हसिनाले भारतको राजधानी नयाँदिल्ली बाट बंगलादेशको ढाका फर्कन सरकारी विमान पठाइदिन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेकी छन् । तर, बंगलादेश सरकारले उनको आग्रह अस्वीकार गर्दै स्वदेश फर्किए पक्राउ गरिने जनाएको छ ।

ADVERTISEMENT

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै हसिना सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेको बताएका छन् ।

ADVERTISEMENT

कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै कबिरले बंगलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको बताए । उनले हसिना फर्किए पक्राउ गरी हतकडी लगाइने चेतावनीसमेत दिए ।

यसैबीच, हसिनाको स्वदेश फिर्ती घोषणालाई ध्यानमा राख्दै बंगलादेश सरकारले भारतसँगको सीमाक्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) ले सीमामा गस्ती तीव्र बनाएको छ ।

विद्यार्थी नेतृत्वको विद्रोहपछि सन् २०२४ अगस्ट ५ मा भारत भागेकी हसिना त्यसयता बंगलादेश फर्किएकी छैनन् । उनको स्वदेश फिर्तीको घोषणाले बंगलादेशको राजनीतिक वातावरणमा थप तनाव सिर्जना गरेको छ ।

यस विषयमा बंगलादेश सरकारले विपक्षीसहित विभिन्न राजनीतिक दलसँग पनि छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ ।

सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतंकवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै पार्टीका सदस्यहरू स्वदेश फर्किए कानुनी कारबाही गरिने जानकारीसमेत दिएको छ ।

डिसेम्बर १६ बंगलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेपछि बंगलादेश स्वतन्त्र राष्ट्र बनेको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।