काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा देशभरबाट ३५ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ।निर्वाचन विरोधी गतिविधि तथा सामाजिक सञ्जाल दुरुपयोग गरी अफवाह फैलाएको आरोपमा उनीहरूलाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार निर्वाचन तथा नियमित शान्तिसुरक्षामा खलल पुग्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी गतिविधि गर्ने, एआइ प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, झुठा प्रचारप्रसार गर्नेलगायत कसुरमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ।

ADVERTISEMENT

प्रहरीले सामाजिक सञ्जाल दुरुपयोग गरी निर्वाचन सुरक्षामा खलल पुर्‍याउनेविरुद्ध निगरानी र नियन्त्रण गर्न नेपाल प्रहरी साइबर ब्यूरो तथा देशभरका प्रहरी कार्यालयमार्फत विशेष संयन्त्र परिचालन गरेको जनाएको छ।

यसका लागि निर्वाचन आयोग, प्रहरीको केन्द्रीय निर्वाचन सेल तथा जिल्ला निर्वाचन सेलमार्फत संयुक्त संयन्त्र सक्रिय बनाइएको छ।

ADVERTISEMENT

समग्र शान्तिसुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले निर्वाचन सूचना व्यवस्थापन प्रणाली (इआईएमएस) र भौगोलिक सूचना प्रणाली (जीआईएस) लगायत प्रविधि विकास गरी निर्वाचन व्यवस्थापन तथा सुरक्षामा आफ्नो संयन्त्र तैनाथ गरेको जनाएको छ।