काठमाडौँ । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा प्रहरी परिचालन र निगरानी बढाइएको छ।
बजार क्षेत्र, धार्मिकस्थल, सार्वजनिक यातायात केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई विशेष प्राथमिकतामा राखिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेका अनुसार चाडपर्वका समयमा चोरी, लुटपाट, जुवातास, लागुऔषध तथा मादक पदार्थको दुरुपयोग, झैझगडा, कालोबजारी, खाद्य पदार्थमा मिसावट र आगलागी प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरिएका छन्।
यी गतिविधि नियन्त्रण गर्न नियमित गस्ती, आकस्मिक जाँच र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। निगरानीलाई प्रभावकारी बनाउन सीसीटीभी, शरीरमा जडित क्यामेरा, ड्रोन तथा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, जोखिमयुक्त क्षेत्रमा तत्काल प्रतिकार्यका लागि द्रुत परिचालन टोली र विपद् व्यवस्थापनमा खटिने जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ।
चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले प्रहरीले सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्राथमिकता दिएको छ। यसका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ।
अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा समेत यात्रु सहायता कक्ष स्थापना गरिएको छ। स्वदेश फर्किने नागरिकलाई सम्भावित ठगी, लुटपाट तथा दुर्व्यवहारबाट जोगाउन ती कक्षमार्फत आवश्यक सहयोग उपलब्ध गराइने प्रहरीले जनाएको छ।
लामो दूरीका सवारीसाधन सञ्चालन गर्नुअघि चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुऔषध सेवनको अवस्था र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गर्ने व्यवस्था मिलाइएको छ।
लामो दूरीका सवारीसाधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्थाको कार्यान्वयनमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ।












