काठमाडौं । बाराको सिमरामा बीवाईडी ब्रान्डको विद्युतीय गाडी पड्किएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भ्रामक रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त घटना सामान्य सडक दुर्घटना भएको स्पष्ट पार्दै गाडी विस्फोट भएको वा आगलागी भएको दाबी असत्य रहेको बताएको छ।
शनिबार साँझ टिकटकमा सार्वजनिक गरिएको ३४ सेकेन्ड लामो भिडियोमा बीवाईडीको एट्टो–२ मोडेलको दुर्घटनाग्रस्त गाडी देखाइएको छ। उक्त भिडियोमा गाडी पड्किएको दाबी गर्दै प्रचार गरिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।
भिडियोमा गाडीको अगाडिको भागमा क्षति पुगेको देखिन्छ भने घटनास्थलमा स्थानीयहरू भेला भएर गाडी निरीक्षण गरिरहेका देखिन्छन्। उक्त सामग्रीलाई लाखौँ पटक हेरिएको छ र धेरै प्रयोगकर्ताले विद्युतीय गाडीको सुरक्षामाथि प्रश्न उठाएका छन्।
तर, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी प्रदीप क्षत्रीका अनुसार शनिबार साँझ ५ः५० बजे भएको उक्त घटना सडक दुर्घटना मात्रै हो।
उनका अनुसार परीक्षणका क्रममा रहेको गाडीले बाटो काट्दै गरेका पैदलयात्रीलाई बचाउने क्रममा नियन्त्रण गुमाएर सडक किनारमा राखिएको रेलिङमा ठोक्किएको थियो। दुर्घटनामा गाडीको अगाडिको भागमा क्षति पुगे पनि चालक भने सकुशल रहेका छन्।
डीएसपी क्षत्रीले दुर्घटनाका क्रममा रेलिङमा ठोक्किँदा केही झिल्का निस्किएको वा सामान्य धुवाँ देखिएको हुन सक्ने बताए। तर सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो गाडी पड्किएको वा ठूलो आगलागी भएको अवस्था नरहेको उनले स्पष्ट पारे।
“टिकटकमा पड्किएको जस्तो भाष्य बनाएर भिडियोहरू राखिएका छन्। तर स्थलगत रिपोर्टअनुसार यो सामान्य सडक दुर्घटना हो, आगलागी वा विस्फोट भएको छैन,” उनले भने।
प्रहरीका अनुसार दुर्घटनापछि गाडीलाई मर्मतका लागि लगिएको छ भने घटनाबारे थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
सिमरामा बीवाईडी ईभी ‘पड्किएको’ दाबी झुटो, सडक दुर्घटनालाई गरियाे तोडमोड


