काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने भएका छन् ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका मिस्रीले प्रधानमन्त्रीसँगको भेटमा बालेनको प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल गर्ने कार्यतालिका छ ।
मिस्री बुधबार नेपाल आएलगत्तै विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्तामा व्यस्त भएका थिए । उनले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरेका थिए ।
अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल–भारत आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको थियो । त्यस्तै, ऊर्जामन्त्री श्रेष्ठसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार र पूर्वाधारमन्त्री लम्सालसँग पूर्वाधार विकास तथा दुई देशबीचको कनेक्टिभिटी विस्तारबारे कुराकानी भएको थियो ।
यसअघि बुधबार नै मिस्रीले परराष्ट्र सचिव अमृत राईसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार, व्यापार सहजीकरण, विकास सहकार्य र ऊर्जा क्षेत्रको साझेदारीलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ । साथै, दुई देशका नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने विषय पनि छलफलको सूचीमा रहेको छ ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई केन्द्रमा राखेर मिस्रीको नेपाल भ्रमण भएको हो । यद्यपि, भ्रमणका क्रममा उठाइने अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्ता सकेर मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।










