बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् ।
डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जीप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ को सौडानी खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा पञ्चेश्वर–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार घाइते भएका छन् ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।










