काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालको परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
नयाँ दिल्लीमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालसँग विकास सहयोग, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलगायत विविध विषयमा विस्तृत सहकार्यको एजेन्डा रहेको बताएका हुन्।
“नेपालका परराष्ट्रमन्त्री नयाँ दिल्ली आइपुग्नुभएको छ। उहाँले हाम्रो विदेशमन्त्रीसँग भेटवार्ता गर्नुहुनेछ। नेपालसँग हाम्रो विकास सहयोगदेखि जनता–जनता सम्बन्ध, व्यापार र लगानीसम्मको विस्तृत एजेन्डा छ,” जयसवालले भने, “दुई विदेशमन्त्रीबीच हुने भेटमा यी सबै विषयमा छलफल हुनेछ। हाम्रो उद्देश्य नेपालसँगको बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउनु हो।”
परराष्ट्रमन्त्री खनाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेका हुन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार भेटवार्ता हुने कार्यक्रम रहेको छ।








