काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले रास्वपा नेतृत्वमा गठन भएको नयाँ सरकारप्रति भारतमा सकारात्मक उत्साह देखिएको बताएका छन्।भारतको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका खनालले स्थिर सरकारका कारण नेपाल–भारतबीच सञ्चालनमा रहेका विभिन्न विकास परियोजना तथा सहकार्यका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास भारतीय पक्षले व्यक्त गरेको बताए।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, “नयाँ सरकारप्रति एक किसिमको उत्साह देखिएको छ। नेपालले स्थिर सरकार पाएको छ र त्यही स्थिरतामार्फत नेपाल–भारतबीचका विभिन्न सहयोगका परियोजना तथा अन्य विषयमा ढुक्क भएर काम गर्न सकिने विश्वास भारतीय पक्षमा देखिएको छ।”
उनले बारम्बार सरकार परिवर्तन हुँदा दीर्घकालीन परियोजना तथा द्विपक्षीय संवादहरू निष्कर्षमा पुर्याउन कठिनाइ हुने गरेको उल्लेख गर्दै अहिलेको सरकारले निरन्तरताको सन्देश दिएको बताए।
“छिटो–छिटो सरकार परिवर्तन हुँदा सुरु भएका परियोजना र संवादहरूलाई निष्कर्षमा पुर्याउन समस्या हुने गरेको थियो,” उनले भने, “हालको स्थिर सरकारले भने भारतलाई आवश्यक विश्वास दिलाएको अनुभूति मैले गरेको छु।”
परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, विकास सहकार्य, लगानी तथा आपसी हितका विविध विषयमा सकारात्मक छलफल भएको जानकारी पनि दिएका छन्।








