काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।

बिहीबार अपराह्न ५ बजे नयाँदिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुई मन्त्रीबीच भेटवार्ता भएको हो। भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए।

ADVERTISEMENT

भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्ने कार्यतालिका रहेको छ।

ADVERTISEMENT

भ्रमणको दोस्रो दिन शुक्रबार अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उच्चस्तरीय कूटनीतिक संवाद तथा भारत व्यापार प्रवर्द्धन संगठनले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भएपछि वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी शनिबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ।

ADVERTISEMENT

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी छन्। अर्थ मन्त्रालयका अनुसार भ्रमणको उद्देश्य नेपाल–भारत आर्थिक सम्बन्ध तथा अन्य द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्नु हो।