काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमाना सम्बन्धी विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।
पाँचदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले मिचिएको नेपाली भूभागको विषयमा सरकारले कूटनीतिक च्यानलमार्फत पहल गरिरहेको बताए।
सञ्चारकर्मीहरूले सीमाना विवादबारे भ्रमणका क्रममा किन सार्वजनिक रूपमा कुरा नउठाएको भन्ने प्रश्न गर्दा उनले भने, “कूटनीतिक विषय कूटनीतिक च्यानलबाटै अघि बढाउनुपर्छ। यस विषयमा अघिल्ला सरकारले पनि पहल सुरु गरेका थिए र अहिले पनि प्रक्रिया जारी छ। समस्या समाधानका लागि विभिन्न माध्यमबाट चरणबद्ध रूपमा काम गर्नुपर्छ।”
भारत भ्रमणबारे बोल्दै लामिछानेले आफ्नो भ्रमणको मुख्य विशेषता पारदर्शिता रहेको बताए। उनले विगतमा उच्चस्तरीय राजनीतिक भ्रमणका क्रममा हुने छलफलहरूबारे पर्याप्त जानकारी सार्वजनिक नहुने गरेको उल्लेख गर्दै यसपटकका भेटघाट र छलफलहरू खुला तथा पारदर्शी ढंगले सम्पन्न भएको दाबी गरे।
“धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठाभित्र सीमित हुने र बाहिर पर्याप्त जानकारी नआउने परम्परा थियो,” उनले भने, “हाम्रो भ्रमणमा भएका सबै महत्वपूर्ण बैठकहरूमा मित्रराष्ट्रका प्रतिनिधिसहित कार्यवाहक राजदूतको उपस्थिति थियो।”
लामिछानेले विगतमा भित्र एउटा कुरा र बाहिर अर्को कुरा हुने किसिमका अपारदर्शी अभ्यासबारे चर्चा हुने गरेको उल्लेख गर्दै यसपटकको भ्रमणमा त्यस्तो अवस्था नरहेको बताए।
उनका अनुसार नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा सकारात्मक र पारदर्शी वातावरणमा छलफल भएको छ र ती छलफलहरू अब विभिन्न चरणमा अघि बढिरहेका छन्।








