काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाएका छन्।

शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र लिएर कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरी र सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका थिए। उनीहरूले देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेपछि निवास पुगेका हुन्।

ADVERTISEMENT

तर, निमन्त्रणापत्र लिएर पुगेका दुवै नेताले देउवालाई प्रत्यक्ष भेट्न पाएनन्। शनिबार साँझ करिब ६ बजे देउवा निवास पुग्दा भानु देउवा पनि बाहिर निस्किसकेकाले भेट हुन नसकेको सहमहामन्त्री चौधरीले बताए।

ADVERTISEMENT

त्यसपछि उनीहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै निमन्त्रणापत्र बुझाएका थिए। सहमहामन्त्री चौधरीका अनुसार निमन्त्रणापत्रमा कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित हुन देउवालाई आग्रह गरिएको छ।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रको प्रमुख आतिथ्य गरिदिन हुन निमन्त्रणा पत्र दिएका छौं,’ चौधरीले बताए। महाधिवेशनको उद्घाटन देउवाबाटै गराउने योजना रहेको चौधरीले बताएका छन्। यद्यपि, देउवा उद्घाटन समारोहमा सहभागी हुने वा नहुनेबारे भने टुंगो लागिसकेको छैन।

ADVERTISEMENT

कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ। यसैबीच, देउवा पक्षले भने छुट्टै महाधिवेशनका कार्यक्रम अघि बढाइरहेको छ।