काठमाडौँ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको मतदान फेरि सरेको छ। अब मतदान दिउँसो १ बजेदेखि हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी पूरा नभएकाले मतदानको समय दिउँसो १ बजेलाई सारिएको जानकारी दिएका छन्।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर वर्षा र केही प्राविधिक कारण देखाउँदै मतदानको समय १० बजेलाई सारिएको थियो। अहिले पुनः तयारी नपुगेको भन्दै १ बजेसम्मका लागि सारिएको हो।
कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा विभिन्न मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको प्रदेश तथा समूहका आधारमा छुट्टाछुट्टै केन्द्र तोकिएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।
त्यस्तै खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।
यसैबीच, निर्वाचन समितिले बुधबार साँझ सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ।







