काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औँ महाधिवेशनका लागि तयार पारेको क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।

महराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सदस्यताको विवरण हस्तान्तरण गरेका हुन्।

ADVERTISEMENT

समूहका अनुसार असोज ९ गतेसम्म वितरण तथा नवीकरण गरिएको क्रियाशील सदस्यताको कुल संख्या ७ लाख ८३ हजार ८३६ रहेको छ। त्यसमध्ये ५ लाख ७३ हजार २६९ पुराना सदस्यको सदस्यता नवीकरण गरिएको र २ लाख १० हजार ६६७ नयाँ सदस्य थपिएका छन्।

ADVERTISEMENT

संयोजक पौडेलले शनिबारदेखि नयाँ क्रियाशील सदस्यता अनलाइनमार्फत वितरण गरिने जानकारीसमेत दिएका छन्। कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर फरक–फरक धारले छुट्टाछुट्टै तयारी अघि बढाएका छन्। शेरबहादुर देउवा पक्षले २१ देखि २३ मंसिरमा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने तथा त्यसपछि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन गर्ने तयारी गरेको छ।

ADVERTISEMENT

इतर समूहले भने १५औँ महाधिवेशनका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा तयारी समिति गठन गरी संगठनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ। सो समूहले विभिन्न जिल्लामा प्रतिनिधि तथा संयोजकहरू तोकेर अधिवेशनको तयारी गरिरहेको छ।

यसअघि कांग्रेसको अर्को धारले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको थियो।