काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि सुरु भएको छ।
पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेसँगै अधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ।
वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्यहरू निर्वाचित गर्नेछ।
शनिबार पार्टी सभापति गगनकुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगरपालिका–२० को वडा अधिवेशन उद्घाटन गरेका थिए।
सो क्रममा सभापति थापाले पार्टीको महाधिवेशनमा सबैलाई समेट्न आफूले अधिकतम प्रयास गरिरहेको बताए। पार्टीभित्रको विवाद समाधानका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने भन्दै उनले विभिन्न पक्षका शीर्ष नेतासँग भेटघाट र छलफल भइरहेको जानकारी दिए।
उनले राजनीतिक दलसँग सम्बन्धित विषय राजनीतिक रूपमै टुंगिनुपर्ने भए पनि विषय अदालत पुगेको र अदालतका पटक–पटकका निर्णयले महाधिवेशन प्रक्रिया अघि बढाउन बाधा नरहेको स्पष्ट पारे।
असोज १६ गतेका लागि तोकिएको अधिवेशन नगरिए फेरि अदालत जाने अवस्था आउन सक्ने भन्दै उनले अधिवेशन सार्नु उपयुक्त नहुने धारणा राखे। वडा अधिवेशनमा छुटेका वा सहभागी हुन नपाएका नेता–कार्यकर्तालाई विधानअनुसार महाधिवेशन प्रक्रियामा समेट्न सकिने बाटो खुला रहेको पनि उनले बताए।
गाउँ, नगर, उपमहानगर र महानगर वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ।










