काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाँकी रहेका वडामा आज पनि अधिवेशन हुँदैछ।

शनिबार र आइतबार विभिन्न कारणले अधिवेशन हुन नसकेका केही जिल्लाका वडामा आज अधिवेशन गर्न लागिएको हो। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन भएको छैन।

ADVERTISEMENT

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हिजोसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ।

ADVERTISEMENT

समितिका सदस्य–सचिव राजु कटुवालले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण रूपमा भइरहेको बताएका छन्।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक र सुनसरीलगायत जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।

ADVERTISEMENT

त्यस्तै मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ।