काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश तथा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।
पार्टीको विधानमा कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा त्यसभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको कुनै पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको भन्दै निर्वाचन समितिले उक्त प्रावधान स्मरण गराएको हो।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जारी गरेको सूचनामा आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने उल्लेख छ।
‘आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा पुनः स्मरण गराइएको छ,’ सूचनामा भनिएको छ।
पदेन प्रतिनिधिले केन्द्रीय पदमा उठ्न नपाउने
निर्वाचन समितिले पदेन महाधिवेशन प्रतिनिधिका साथै भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधिका सम्बन्धमा पनि वैधानिक व्यवस्था स्मरण गराएको छ।
समितिका अनुसार त्यस्ता पदेन प्रतिनिधिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी दिन पाउने छैनन्।
कांग्रेसले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइरहेका बेला निर्वाचन समितिले उम्मेदवारीसम्बन्धी वैधानिक प्रावधान स्पष्ट पार्दै सूचना जारी गरेको हो।







