काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशमा व्याप्त बेथिति, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्न अपराधीलाई सार्वजनिक रूपमा कोर्रा हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राईले विद्यमान कानुनी प्रक्रिया झन्झटिलो हुनुका साथै ‘सेटिङ’मा चल्ने गरेको आरोप लगाए। अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने, अनुसन्धान गर्ने र पुनः मिलेमतोमा छुटाउने प्रवृत्तिले देशमा बेथिति बढाएको उनको भनाइ थियो।

राईले अपराधीमाथि कडा कारबाही गर्नुपर्ने भन्दै संसद्‌बाटै कोर्रा हान्ने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे।

ADVERTISEMENT

उनले भने, ‘मेरो–तेरो नभनीकन फटाहालाई कर्‍यापझ्याप पारेर कोर्राले हानौँ न। त्यस्तो कानुन बनाऔँ, यही हो कानुन बनाउने ठाउँ।’

ADVERTISEMENT

माया र सामान्य सोधपुछबाट अपराधी नसुध्रिने दाबी गर्दै राईले देशमा व्याप्त बेथितिको अन्त्यका लागि कठोर सजाय आवश्यक रहेको बताए।

बैठकमा राईले देशको सुरक्षा अवस्था र प्रधानमन्त्रीको कार्यशैलीप्रति समेत प्रश्न उठाए। प्रधानमन्त्रीले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको उनको आरोप थियो।

‘हामी कस्तो देशमा छौँ, जहाँ प्रधानमन्त्री नै भन्छन् हामीले छिमेकीको सीमा मिचेका छौँ। यहाँ न सुरक्षा छ, न न्याय, न सेवा–सुविधा,’ उनले भने।

देशमा कोही पनि सुरक्षित नरहेको दाबी गर्दै राईले जनतामात्र नभई सांसदहरूले समेत असुरक्षित महसुस गरिरहेको बताए। उनले सरकारलाई सुरक्षा, न्याय र सेवा प्रवाहको विषयमा गम्भीर बन्न आग्रह गरे।