काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । उनले बालेनको संसदीय कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिन माग गरेका हुन् ।

राईले शुक्रवार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसद र संसदीय परम्पराको अपमान गरेको आरोप लगाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गराएपछि प्रधानमन्त्री स्वयं संसदबाट बाहिरिएको र पुनः उपस्थित नभएको घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको अवमूल्यनको रूपमा चित्रण गरेका छन् ।

ADVERTISEMENT

प्रतिपक्षी दलहरूले उपस्थितिको माग गर्दासमेत प्रधानमन्त्री संसदमा नआएको तथा आफ्नै कार्यालयबाट संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेको आरोप राईले लगाएका छन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको उल्लेख गर्दै उनले उक्त जिम्मेवारीबाट प्रधानमन्त्री पन्छिएको बताएका छन् । संसदका कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुसमेत प्रधानमन्त्रीको गैरजिम्मेवार व्यवहार भएको उनको भनाइ छ ।

ADVERTISEMENT

राईले संसदको मर्यादा कायम राख्न नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गर्दै यस्तो घटनाले संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको बताएका छन् । उनले जनताको सार्वभौम संस्थालाई अपमान गर्ने व्यक्तिले नैतिकताको आधारमा पदमा बसिरहन नमिल्ने जिकिर गरेका छन् ।

हर्कले बुधबारको प्रतिनिधिसभा बैठकमै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेर बैठक बहिष्कार गरेका थिए । संसद्को सामना गर्न नसक्ने प्रधानमन्त्री आवश्यक नरहेको भन्दै उनले निरन्तर सदन भित्र र बाहिर आवाज उठाउँदै आएका छन् ।