काठमाडौं । श्रम संस्कृति पार्टीले पार्टीका ब्यानर, प्रचारप्रसार, श्रमदान कार्यक्रमलगायतमा अध्यक्ष हर्कराज राई (साम्पाङ) को तस्बिर अनिवार्य राख्न सर्कुलर गरेको छ ।
पार्टीको कोशी प्रदेश अध्यक्ष प्रताप राईले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘ब्यानर तथा प्रचार प्रसार सामाग्रीमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नू’ उल्लेख गरेका छन् ।
प्रदेशको महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिकाभित्र पार्टीले आयोजना गरेका हरेक कार्यक्रमका ब्यानर र प्रचारप्रसार सामग्रीमा हर्कको तस्बिर राख्न निर्देशन दिइएको हो । श्रम संस्कृतिको वकालत गरेको पार्टीले व्यक्ति पूजा गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।









