काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पार्टी खोलेका छन् । उनलेनिर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

राईले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । अहिले पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगले जनाएको छ ।

ADVERTISEMENT

हर्कले आफैँ उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका र अहिले कागजात रुजु गर्ने प्रक्रियामा रहेको आयोगले जनाएको छ ।आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रमा राखेर उनले पार्टी खोल्ने प्रक्रिया अघि बढाएका हुन् ।

नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पनि तयारी छ । अहिले हर्क र बालेनबीच मनमुटाव छ । बालेनले पार्टी खोल्ने तयारी गरिरहेका हल्लाकाबीच हर्कले नयाँ पार्टी दर्ताको औपचारिक तयारी थालेका हुन् ।

ADVERTISEMENT

केही अगाडिसम्म हर्कले बालेनसँगै मिलेर पार्टी खोल्ने घोषणा गरेका थिए । तर जेनजी आन्दोलनपछि दुवैबीच पानी बाराबारको स्थिति छ । स्रोतका अनुसार बालेन पहिलेकै ‘हाम्रो नेपाली पार्टी’ लाई स्वामित्व लिएर चुनावमा जाने तयारीमा छन् ।

केही अगाडिसम्म नयाँ दल खोल्ने भन्दै हर्कले सबैलाई सहयोगका लागि आग्रह गर्दै आएका थिए । तर अहिले गुपचुप उनी दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा हर्क र बालेन लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उठेर जितेका थिए ।