काठमाडौँ — श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्राकृतिक विपत्ति र विभिन्न दुर्घटनाका पीडितलाई सहयोग गर्न सबै सांसदले आफ्नो पारिश्रमिकबाट ५०–५० हजार रुपैयाँ योगदान गर्नुपर्ने प्रस्ताव गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद राईले जननिर्वाचित प्रतिनिधिहरू नागरिकको दुःखमा साथ दिनुपर्ने भन्दै छुट्टै राहत कोष स्थापना गर्न आग्रह गरे।

उनले पछिल्लो समय देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक दुर्घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसदहरूले नै अग्रसरता देखाउनुपर्ने बताए।

ADVERTISEMENT

‘देशमा प्राकृतिक विपत्ति र ठूला दुर्घटनाहरू भइरहेका छन्, जसले धेरै नागरिकलाई पीडा दिएको छ,’ राईले भने, ‘ती पीडितहरूको घाउमा मलम लगाउन हामी सबै २७५ जना सांसदले आफ्नो पारिश्रमिकबाट ५०–५० हजार रुपैयाँ जम्मा गरेर छुट्टै राहत कोष बनाऔँ।’

ADVERTISEMENT

उनले यस्तो कोषले विपद्का बेला सरकारको मुख मात्र ताक्नुपर्ने अवस्था अन्त्य हुने र जनप्रतिनिधिहरू जनताप्रति कति संवेदनशील छन् भन्ने सन्देश जाने विश्वास व्यक्त गरे।