काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया सुरु भएको छ । यसअन्तर्गत आज (चैत २६) उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । हर्कराज राईद्वारा प्रकाशित सूचनामा आजै दिउँसो २:३० बजे दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने उल्लेख छ ।

निर्वाचन प्रक्रिया अन्तर्गत चैत २७ गते उपसभामुखको निर्वाचन हुनेछ । सो दिन अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यसपछि प्रस्तावमाथि छलफल गरी निर्णय लिइनेछ ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तय गर्दै आवश्यक सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । यद्यपि, प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिक रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन प्राप्त दलबाटै उपसभामुख चयन हुने सम्भावना उच्च देखिएको छ । हालसम्म रास्वपाले कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन ।