काठमाडौँ — नेकपा (एमाले)की सांसद यशुदा बरालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद बरालले शान्ति सुरक्षा कायम गर्न र जनताका समस्या समाधान गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्।
सुनसरीमा भएको साम्प्रदायिक तनावको प्रसंग उठाउँदै उनले ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ भन्ने भावनाअनुसार सबै नेपाली एकताबद्ध भएर बस्नुपर्नेमा जोड दिइन्। साथै, उनले सरकारको नैतिक जिम्मेवारीमाथि पनि प्रश्न उठाइन्।
‘हिजो नैतिकताको कुरा गर्ने प्रधानमन्त्री र गृहमन्त्री आज कहाँ हुनुहुन्छ?’ भन्दै बरालले प्रश्न गरिन्। उनले भनिन्, ‘यदि सरकारले देशमा शान्ति सुरक्षा दिन सक्दैन भने उनीहरूले तत्काल राजीनामा दिनुपर्छ। संसद्मा १८२ जना सांसद छन्, सरकार चलाउन अरू पनि सक्षम छन्। असफल नेतृत्व अब चल्न सक्दैन।’





