काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन्।निर्वाचनको सम्पूर्ण नतिजा आएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भने, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य हो। यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु।”

उनले मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।”निर्वाचनको परिणाम पार्टीको पक्षमा नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको उनले स्पष्ट पारेका छन्। “हामी जनताकै बीचमा रहनेछौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं,” उनले भने।

यसपटक एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट जितेको छ। अध्यक्ष ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए।