हेटौंडा । केन्द्रीय राजनीतिक समीकरण फेरिने चर्चाका बीच नेकपा एमालेले बागमती प्रदेश सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ।

काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो।

ADVERTISEMENT

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने बताए।

उनले मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान र हल्लामात्र भएको उल्लेख गर्दै पार्टीको निर्णयअनुसार नै अघि बढ्ने स्पष्ट पारे।

ADVERTISEMENT

पौडेलका अनुसार हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् छ। केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव तत्काल प्रदेश सरकारमा नपर्ने उनले संकेत गरे।

यस्तै, मन्त्रालयको जिम्मेवारी बाँडफाँट तथा बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिने विषयमा उठेका विवादबारे पार्टी नेतृत्व तहमा छलफल भइरहेको र एक–दुई दिनभित्र निर्णय हुने उनले बताए।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र गठबन्धनका अन्य दलसँग निरन्तर संवादपछि मात्रै थप निर्णय गरिने बताएका छन्।