काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

ADVERTISEMENT

उनले जनताको जीवनस्तर माथि उठाउने, गरिबी हटाउने र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्ने लक्ष्यसहित नीति निर्माण गर्नुपर्ने बताए । यसका लागि आम्दानीका स्रोत विस्तार, उत्पादन वृद्धि र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

ओलीले रोजगारीको मूल्य काम गरेको समयका आधारमा नभई त्यसबाट प्राप्त हुने आम्दानीका आधारमा निर्धारण हुने बताए । नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारीका अवसर आवश्यक रहेको उनले उल्लेख गरे ।

गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नहुने भन्दै ओलीले विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न स्पष्ट नीति र उत्पादनमुखी रोजगारी आवश्यक रहेको बताए । कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने उनको भनाइ थियो ।

ADVERTISEMENT

उनले आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको बताए ।

प्रत्येक नागरिकले खाना, लत्ताकपडा, आवास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।

ओलीले जात, वर्ग वा समुदायका आधारमा विभेद नगरी सबै नागरिकलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए । सत्य, न्याय र समानताको मार्गबाट मात्रै समग्र समाजको कल्याण र समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।

प्रत्येक नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने तथा आधारभूत आवश्यकताको परिपूर्ति हुने अवस्था निर्माण गर्ने लक्ष्यसहित राज्यका नीति अघि बढ्नुपर्ने ओलीले बताए ।