काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्रअन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेश समितिका लागि निर्वाचन प्रक्रिया थप स्पष्ट पार्दै नयाँ सर्कुलर जारी गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरिएको परिपत्रमा निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्न तीन बुँदे नीतिगत स्पष्टता दिइएको छ। परिपत्रअनुसार अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेशमा पहिलो महाधिवेशन चक्रकै नियम र प्रक्रिया लागू हुनेछन्।
रास्वपाले यसअघि जारी गरिएको पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगका निर्णय र व्याख्याहरू बाँकी रहेका सबै अधिवेशनमा समान रूपमा कार्यान्वयन गरिने जनाएको छ।
परिपत्रमा उम्मेदवारी दर्ता र प्रतिनिधित्वसम्बन्धी नयाँ व्यवस्था पनि गरिएको छ। अब महाधिवेशन चक्रमा कुनै पनि तहमा बहाल रहेको सदस्यले अर्को तह वा पदका लागि उम्मेदवारी दर्ता गरेसँगै उसको पुरानो प्रतिनिधिको हैसियत स्वतः समाप्त हुने व्यवस्था गरिएको छ। यसका लागि छुट्टै राजीनामा दिनुपर्ने छैन।
यस्तै, ‘एक व्यक्ति, एक तह’ को सिद्धान्तलाई कडाइका साथ लागू गर्दै एउटै महाधिवेशन चक्रमा कुनै पनि सदस्यले एकभन्दा बढी तहमा प्रतिनिधित्व गर्न नपाउने व्यवस्था गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न पार्टीका सबै सदस्य, प्रतिनिधि, उम्मेदवार, पदाधिकारी तथा अधिवेशन आयोजक समितिलाई आग्रह गरेको छ।




