काठमाडौं। झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहको पक्षमा सादा पोशाकका प्रहरीले मत मागेको भन्ने उजुरी निर्वाचन आयोगमा परेको छ।उजुरीमा उल्लेख छ कि उम्मेदवार बालेनकी श्रीमती सविना काफ्लेले मतदाताको घरदैलो गर्दै मत माग्दा राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीसँग सादा पोशाकका प्रहरीसमेत सहभागी रहेको आरोप छ। उजुरीकर्ताले उक्त गतिविधि श्रव्यदृश्य सामग्रीसहित आयोगमा पेश गरेका छन्।

निर्वाचन आयोगले यसबारे सत्यतथ्य जाँच गर्न अनुगमन अधिकृतलाई निर्देशन दिएको छ। आयोगको पत्रमा अनुगमन अधिकृतलाई सविना काफ्ले र टोलीसँग सादा पोशाकका प्रहरी खटिएको वा नखटिएको विषयमा आवश्यक अनुसन्धान गरी प्रतिवेदन तयार गर्न अनुरोध गरिएको छ।

निर्देशनअनुसार प्रतिवेदनपछि आयोगले अनुसन्धान नतिजाको आधारमा आवश्यक निर्णय लिने तयारीमा रहेको छ।