काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच वैकल्पिक राजनीतिक शक्तिको बृहत् एकतासम्बन्धी सातबुँदे सम्झौता भएको छ। यो सम्झौताले नेपालको राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै कायम रहनेछ। दलको झण्डा निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति र चुनाव चिन्ह घण्टी यथावत रहने छ। केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामै रहनेछ।
नेतृत्व व्यवस्था :
रास्वपा सभापति रवि लामिछाने नै रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले रहने सहमति भएको छ।
सम्झौताका मुख्य बुँदाहरू :
१. जेन–जी युवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता।
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (मेरिटोक्रेसी), भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहँदै दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयन।
३. पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र कार्यालय यथावत।
४. सभापति रवि लामिछाने, उपसभापति कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले।
५. उज्यालो नेपाल अभियानलाई पार्टीको कार्यक्रमसँग जोड्दै युवा अभियन्ता र विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिने।
६. सम्झौताअनुसार पार्टी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।
७. रास्वपाको सिद्धान्त, नेतृत्व र घण्टी चिन्हमा गोलबन्द हुँदै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका लागि अन्य वैकल्पिक शक्तिहरूलाई आह्वान गर्ने।
यो सम्झौताले रास्वपा मजबुत बनाउने र पुराना दलहरूलाई चुनौती दिने विश्वास गरिएको छ। रास्वपा नेताहरूले यो एकता राष्ट्रहितमा भएको बताएका छन्।