काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरेको हो ।
जसमा केन्द्रीय निर्वाचन आयोगले महाविधेशन तयारी कार्यतालिम स्वीकृत गरेको छ । सो कार्यतालिकाअनुसार निर्वाचन समिति गठन, प्रतिनिधि नामावली पेस, अधिवेशन प्रतिवेदन संकलनलगायत कार्यहरू समयसीमाभित्रै सम्पन्न गरिने जनाएको छ ।
आयोगका अनुसार यसका कार्यहरू जेठ ७ बाटै सुरु भइसेको छ । ७७ जिल्ला तथा सातै प्रदेशमा निर्वाचन समिति गठन गर्ने समयसीमा जेठ १५ सम्मका लागि तोकिएको छ ।
जेठ १० सम्म आधिकारिक परिपत्र तथा माइन्यूट प्रतिलिपि पठाउने, जेठ २० सम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जेठ २५ सम्म महाधिवेशन प्रतिनिधिको नामावली पेस गर्ने, ३० गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेस गर्ने, असार ५ सम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेस, इलेक्ट्रोनिक भोटिङ मेसिनसम्बन्धी छलफल गरिसक्नुपर्ने जनाइएको छ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने निर्णय भएको छ । वैशाख ३० गतेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । महाधिवेशनले पार्टीको नीति, सिद्धान्त र नयाँ नेतृत्व चयन गर्नेछ ।








