काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति र व्यवस्थापनसम्बन्धी आन्तरिक निर्देशन जारी गरेको छ।
पार्टी महामन्त्री विपिन आचार्यले शुक्रबार जारी गरेको निर्देशनअनुसार अब रास्वपाका सांसदहरूले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन्।
रास्वपाका केही सांसदहरूले आफन्तलाई स्वकीय सचिव नियुक्त गरेको समाचार आएपछि आन्तरिक निर्देशन जारी गरिएको हो । हालै मन्त्रीपरिषद्ले संघीय संसद्का सदस्यहरूलाई राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृतसरह) को एकजना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो । रास्वपाले राज्यकोषको दुरुपयोग रोक्न र पारदर्शिता कायम गर्न यस्तो नीति ल्याएको जनाएको छ ।
‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ,’ पत्रमा भनिएको छ ।
सांसदहरूले स्वकीय सचिवको छनोट गर्दा सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधि अपनाउनुपर्नेछ। यसका लागि संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार गर्ने र सोही आधारमा मात्र आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ। केही दिनयता रास्वपा सांसदहरूले सामाजिक सञ्जालमा स्वकीय सचिवका लागि आह्वान गरिरहेका छन् ।
स्वकीय सचिव हुन शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण अनिवार्य गरिएको छ। विज्ञता, प्रविधिमैत्री क्षमता र अनुसन्धान कौशल भएका व्यक्तिलाई प्राथमिकता दिन भनिएको छ। साथै, नियुक्तिमा महिला, सीमान्तकृत र पिछडिएका वर्गलाई प्रोत्साहन गर्ने नीति रास्वपाले लिएको छ।
स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा गर्न, असुल्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ। ‘पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस्तो कार्यमा आर्थिक अनियमितता पाइएमा गम्भीर अनुशासनहीनता मानिनेछ।’
सांसदले छनोट गरेका उम्मेदवारलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्नेछ। नियुक्त सचिवको व्यक्तिगत विवरण र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पार्टीको केन्द्रीय कार्यालयमा समेत दर्ता गराउनुपर्नेछ।










