काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न र त्यस्तो भाष्य सिर्जना नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

बुधबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा उनले महाधिवेशनपछि पार्टीभित्र कुनै गुट वा समूह नरहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्ता रास्वपाको साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

ADVERTISEMENT

बैठकमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग ५१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनका विषयमा नियमित छलफल भइरहेको जानकारी पनि गराइएको थियो। लामिछानेले आगामी १०–१५ दिनभित्र चरणबद्ध रूपमा मनोनयन प्रक्रिया अघि बढाइने बताएका छन्।

केन्द्रीय सदस्य जगदीश खरेलका अनुसार बैठकमा महाधिवेशनको समीक्षा, विधान संशोधन तथा कार्यविधि संशोधनसम्बन्धी नीतिगत निर्णय गरिएको छ। साथै, बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णयलाई पनि बैठकले अनुमोदन गरेको छ।

ADVERTISEMENT

दैनिक कार्य सञ्चालनलाई प्रभावकारी बनाउन निर्वाचित पदाधिकारीको सचिवालय गठन गरिएको छ। सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य तथा उपमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बाँकी सदस्य क्रमशः थप्दै जाने जनाइएको छ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। सरकार र पार्टीभित्र कुनै मतभेद नरहेको रास्वपाले जनाएको छ।