काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति कडा आपत्ति जनाएका छन् । उनले उक्त निर्णयलाई “इतिहासकै लागि लज्जाको विषय” भन्दै प्रश्न गरे जनताको हिनामिना भएको पैसा कसले तिर्छ ? के महान्याधिवक्ताको कार्यालयले तिर्छ ?
४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले अहिले देशमा विधि र कानुनको शासन नभई जथाभावी शासन चलाइएको आरोप लगाए । उनले भने, “अहिले कसैले सम्पत्ति खाए पनि मुद्दा लाग्दैन, हिजो लागेका अभियोग सच्याइन्छन् र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ ।”

अध्यक्ष ओलीले नेपालमा नेपालीकै सरकार बन्नुपर्छ भन्ने आफ्नो पार्टीको अडान दोहोर्याउँदै यदि अरूको सरकार बन्ने प्रयास भए त्यसविरुद्ध सङ्घर्ष गर्ने चेतावनी दिए । उनले नयाँ पुस्तालाई सचेत रहन आग्रह गर्दै यो देश पुर्खाले बलिदान दिएर स्वतन्त्र र सार्वभौम बनाएको भन्दै त्यसको रक्षा गर्नु सबैको दायित्व भएको बताए ।
कार्यक्रममा उनले निरङ्कुश पञ्चायत सरकारले २०४० साल पुस ३० गते सिन्धुपाल्चोकको पिस्करमा गरेको हत्या काण्ड स्मरण गर्दै सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।







