काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी र पहिरोको यो महाविपद्को समयमा सबै राजनीतिक दलहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर एकजुट हुन आह्वान गरेका छन् । प्रतिनिधिसभाको बैठकमा उनले अहिले राजनीति गर्ने नभई मानवीय सेवामा समर्पित हुने समय भएको बताए।

सभापति लामिछानेले राहत र उद्धार कार्यमा पोख्त तथा अनुभव भएका सबै राजनीतिक दलका विशेषज्ञहरूलाई एकै स्थानमा ल्याएर एकीकृत रूपमा परिचालन गर्न सरकार र दलहरूलाई आग्रह गरे । उनले भने–  ‘हामीसँग भएका सबैभन्दा राम्रा हातहरू र दिमागहरूलाई एक ठाउँमा ल्याऔँ। अहिले कुनै दलको झन्डा बोकेर हिँड्ने बेला होइन, नेपालको झन्डा बोकेर एकजुट भई अगाडि बढ्ने बेला हो।’

संसद्को सबैभन्दा ठुलो दलको हैसियतले राष्ट्रिय स्वतन्त्र पार्टीको काँधमा सबैभन्दा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्न आफ्नो पार्टी पूर्ण रूपमा तयार रहेको बताए । उनले सबै दल र सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक बसेर ठोस कार्य योजनाका साथ अघि बढ्न प्रस्ताव समेत गरे।

ADVERTISEMENT

‘यो सङ्कटको घडीमा हामी सबै एउटै टिम हौँ । समन्वयकारी जिम्मेवारी लिन र सरकारलाई सघाउन हामी चौबीसै घण्टा तयार छौँ,’ लामिछानेले भने। उनले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र पीडितसम्म राहत पुर्‍याउन सबै संयन्त्रलाई सामूहिक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए।

ADVERTISEMENT