काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।
सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भने उक्त कसुरमा मतियार रहेको ठहर गरिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार सुनाएको फैसलाअनुसार रायमाझीसहित केही प्रतिवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने नाममा संगठित रूपमा ठगी गर्दै राज्यविरुद्धको कसुर गरेको ठहर गरेको हो।
अदालतले केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरमा दोषी ठहर गरेको छ।
यस्तै, बालकृष्ण खाँड, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई भने राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतले ठहर गरेको छ।
यसअघि अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा अधिकांश अभियुक्तलाई दोषी ठहर गर्दै केहीलाई सफाइ दिएको थियो। दोषी ठहर भएकाहरूको सजाय निर्धारण भने अदालतले आगामी चरणमा गर्नेछ।









